कांग्रेस महाधिवेशनमा प्रचण्डको सन्देश– गगनपछि अब रविले पनि क्रमभंग गर्नुपर्छ
ईर्साद अन्सारी
१८ असोज,काठमाण्डाै । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा ‘निरन्तरताको क्रमभंग’ गरेको बताएका छन्।
महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गगन थापालाई बधाई दिँदै आफूले यसअघि नै उनमा नेतृत्व गर्ने क्षमता देखेको बताएका हुन्। आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले थापाको राजनीतिक यात्रामा आफू खुसी रहेको बताए।
‘गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने। उनले विषम राजनीतिक परिस्थितिका बीच गगन थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा ‘क्रमभंग’ भएको बताए।
कांग्रेसको परम्परागत नेतृत्वको निरन्तरतामा परिवर्तन गर्दै थापा नेतृत्वमा आएको उनको भनाइ थियो। प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेटेर अघि बढ्न थापालाई सुझाव दिए।
पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले सबैलाई सम्मानसहित जोडेर लैजानुपर्ने बताए। प्रचण्डले थापा अब कांग्रेसको नेतृत्वमा मात्र सीमित नभई देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने बताए। त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ थियो।
सम्बोधनका क्रममा प्रचण्डले आफू नेतृत्वको सरकारमा गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मन्त्री रहेको प्रसंग पनि स्मरण गरे। उनले गगनले राजनीतिक नेतृत्वमा ‘क्रमभंग’ गरिसकेको भन्दै रविले पनि त्यस्तै क्रमभंग गर्नुपर्ने संकेत गरे।
प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई असाधारण र चुनौतीपूर्ण भन्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा संस्थागत विकासका लागि प्रमुख राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।
उनले शान्ति प्रक्रियाका बाँकी कामसमेत समयमै टुंग्याउनुपर्नेमा जोड दिए। शान्ति सम्झौताका बाँकी विषय समाधान हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ थियो।
गगन थापाको नेतृत्वमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विश्वास व्यक्त गर्दै प्रचण्डले देशको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0