‘संवैधानिक अधिकारमाथि अवरोध’ भन्दै प्रहरीप्रति मानव अधिकार आयोगको कडा आपत्ति

Sep 27, 2026 - 17:46
 0  10
‘संवैधानिक अधिकारमाथि अवरोध’ भन्दै प्रहरीप्रति मानव अधिकार आयोगको कडा आपत्ति

११ असाेज,काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

जबराको पक्राउबारे अनुगमन गर्न आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार टेकुस्थित प्रहरी परिसर पुगेको थियो। तर, प्रहरीले आयोगको टोलीलाई जबरासँग भेटघाट गरी घटनाबारे जानकारी लिन रोक लगाएको आयोगले जनाएको छ।

 आयोगका अनुसार प्रहरीको उच्च नेतृत्वसँग अनुगमनमा रोक लगाउनुको कारणबारे जानकारी माग्दा समेत टोलीलाई स्पष्ट कारण बताइएन। राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) अनुसार आयोगले आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने अधिकारसमेत आयोगलाई रहेको विज्ञप्तिमा उल्लेख छ। आफूलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीले आयोगको अनुगमनमा अवरोध गरेको भन्दै आयोगले खेद व्यक्त गरेको छ।

आयोगले घटनाको निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

 आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्तो माग गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0