लगातारको भारी वर्षासँगै बाढी-पहिरोको जोखिम: निजगढका बकैया, भमरा र बगरसहित १० वटा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन नगरपालिकामार्फत विशेष अपिल

Sep 24, 2026 - 17:31
 0  6
लगातारको भारी वर्षासँगै बाढी-पहिरोको जोखिम: निजगढका बकैया, भमरा र बगरसहित १० वटा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन नगरपालिकामार्फत विशेष अपिल

८ असाेज,बारा । लगातार वर्षासँगै निजगढ नगरपालिकाले नगर क्षेत्र भएर बहने बकैया, भमरा, बगर, धन्सार, भक्तलाल, भालु, बुड्जोर, गडवन, खयर र शक्ति खोलासहित खहरे तथा खोल्सी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौंले असोज ७ गते जारी गरेको ‘सतर्कताका लागि अनुरोध’लाई आधार बनाउँदै निजगढ नगरपालिकाले असोज ८ गते अत्यन्त जरुरी सूचना जारी गरी नगरवासीलाई सम्भावित विपद्को जोखिमबाट जोगिन पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

नगरपालिकाका अनुसार असोज ८ गतेदेखि १२ गतेसम्म मधेश प्रदेशसहित देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी, भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेको छ। यस्तो मौसमका कारण बाढी, डुबान, पहिरो, भू–क्षय तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सावधानी अपनाउन आग्रह गरेको हो।

 निजगढ नगरपालिका क्षेत्र भएर बहने बकैया खोला, भमरा खोला, बगर खोला, धन्सार खोला, भक्तलाल खोला, भालु खोला, बुड्जोर खोला, गडवन खोला, खयर खोला र शक्ति खोला आसपासका क्षेत्रलाई विशेष जोखिमयुक्त क्षेत्रका रूपमा ध्यान दिन नगरपालिकाले आग्रह गरेको छ।

त्यस्तै, नगरपालिकाका विभिन्न वडामा रहेका खहरे तथा खोल्सी आसपास, खोला किनार, पहिरो जान सक्ने स्थान र भू–क्षयको जोखिम रहेका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

 नगरपालिकाले हाल निजगढ क्षेत्रमा समेत वर्षा भइरहेको जनाउँदै नगरवासीलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, टोल, बस्ती, वडा तथा समुदायस्तरमा आवश्यक सतर्कतासहित पूर्वतयारी गर्न र सम्भावित विपद्को अवस्थामा प्रतिकार्यका लागि तयार रहन अनुरोध गरिएको छ।

 सम्भावित जोखिमका विषयमा आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सही र तथ्यपरक सूचना मात्र आदानप्रदान गर्न पनि नगरपालिकाले आग्रह गरेको छ। विपद्को जोखिम वा कुनै आपत्कालीन अवस्था देखिएमा नजिकको वडा कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गर्न नगरपालिकाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0