रौतहटमा भारी वर्षाको सम्भावना, दुर्गाभगवती गाउँपालिकालाई सतर्क रहन आग्रह
७ असाेज,रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा आज साँझदेखि आगामी शनिबार साँझसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बुधबार दिउँसो २ बजे जारी गरेको भारी वर्षा प्रभावमा आधारित मौसम पूर्वानुमानअनुसार २०८३ असोज ७ गते साँझ ६ बजेदेखि असोज १० गते साँझ ६ बजेसम्म गाउँपालिकामा धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भारी तथा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण विद्युत्, सञ्चार, खानेपानी र सडकजस्ता क्षेत्रमा प्रभाव परी केही समय सेवा अवरुद्ध हुन सक्ने महाशाखाले जनाएको छ।
खोलानाला तथा खहरेमा पानीको बहाव बढ्नुका साथै जमिन कटानको जोखिमसमेत रहेको जनाइएको छ। त्यस्तै, खेतियोग्य जमिन तथा खेतबारीमा पानी जम्न सक्ने र धानबालीमा समेत असर पर्न सक्ने बताइएको छ।
वडा नम्बर २, ४ र ५ मा खाद्यान्न बालीमा क्षति तथा खेतबारीमा पानी जम्ने सम्भावना औँल्याइएको छ। वर्षाका कारण पशुचौपायाको दाना तथा गोठ व्यवस्थापनमा समस्या आउन सक्ने, अस्पताल, विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक सेवामा समेत केही समय अवरोध हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले जोखिमयुक्त बस्ती, नदी तटीय क्षेत्र तथा डुबान हुने स्थानका नागरिकलाई समयमै पूर्वसूचना दिन स्थानीय तहलाई आग्रह गरेको छ। निर्माणस्थलमा रहेका उपकरण सुरक्षित स्थानमा सार्न, पशुचौपायालाई सुरक्षित स्थानमा राख्न तथा दाना–पानीको व्यवस्थापन गर्न पनि भनिएको छ।
कृषकलाई धानबाली नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा राख्न सूचित गर्नसमेत महाशाखाले सुझाव दिएको छ। साथै, मौसमसम्बन्धी पूर्वसूचना नियमित रूपमा प्रवाह गरी नागरिकलाई समयमै जानकारी गराउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0