रसुवा बाढी : अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मा बागमती सरकारले लिने

Sep 3, 2026 - 19:45
 0  3
रसुवा बाढी : अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मा बागमती सरकारले लिने

१८ भदौ,हेटाैडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीका कारण अभिभावकविहीन बन्न पुगेका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीका अनुसार रसुवासहित बाढीबाट प्रभावित नुवाकोट, धादिङ र चितवनका अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षामा निरन्तरता सुनिश्चित गरिनेछ। प्रदेश सरकारले विपद्का कारण अभिभावक गुमाएका बालबालिकालाई आवश्यक आवासीय व्यवस्था मिलाउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क उपलब्ध गराउने जनाएको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ। यसअघि प्रदेश विपद् व्यवस्थापन कोषको रकम सम्बन्धित जिल्लाको जिल्ला दैवी प्रकोप व्यवस्थापन कोषमा पठाउनुपर्ने व्यवस्था थियो।

उक्त प्रक्रियाका कारण विपद्का बेला राहत तथा उद्धारका लागि रकम परिचालन गर्न ढिलाइ हुने र संघीय कानुनअनुसार थप प्रक्रिया पूरा गर्नुपर्ने भएकाले कार्यविधि संशोधन गर्न लागिएको मन्त्री केसीले बताए।

 संशोधित व्यवस्थाअनुसार अब आवश्यकता र परिस्थितिका आधारमा विपद् व्यवस्थापनका लागि जिल्ला तथा स्थानीय तहमा नै रकम पठाउन सकिनेछ। यसबाट विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा छ।

बैठकले उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0