म्यादी प्रहरीको कपडा खरिदबारे लेखा समितिले बनायो अध्ययन समिति
१६ असाेज,काठमाडौं । गत फागुनमा सम्पन्न निर्वाचनका लागि म्यादी प्रहरीको पोसाक खरिदमा उठेका प्रश्नबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो। समितिमा सांसदहरू खगेन्द्र सुनार, ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।
अध्ययन समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाउने जिम्मेवारी दिइएको समितिका सभापति भरत खड्काले जानकारी दिए। समिति गठन गर्ने विषयमा छलफल भइरहेका बेला सांसद खगेन्द्र सुनारले आफूलाई नै संयोजक बनाउनुपर्ने अडान राखेका थिए।
उनले म्यादी प्रहरीको पोसाक खरिदसँगै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि समेत छानबिन गर्नुपर्ने माग दोहोर्याएका थिए। सुनारले आफूले प्रमाणसहित दिएका उजुरीबारे पटकपटक कुरा उठाउँदा पनि समितिले चासो नदिएको भन्दै असन्तुष्टि जनाएका थिए। यसअघिका तीन जना प्रहरी महानिरीक्षक भ्रष्टाचार मुद्दामा जेल गएको उल्लेख गर्दै उनले आफूले ‘कसको इन्ट्रेस्ट के छ’ भन्ने बुझेको दाबीसमेत गरेका थिए।
यता, छानबिन समिति गठन गर्ने कि अध्ययन समिति बनाउने भन्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरूले बुझाएका प्रतिवेदन अध्ययन नगरी सिधै छानबिन समिति गठन गर्न नहुने धारणा राखेकी थिइन्।
उनले उजुरी परेकै आधारमा तत्काल छानबिन सुरु गर्दा लामो समयदेखि काम गरिरहेका कर्मचारीको मनोबलमा असर पर्न सक्ने भन्दै विषयलाई व्यक्तिकेन्द्रित बनाउन नहुनेमा जोड दिएकी थिइन्। एमाले सांसद ऐन महरले उठेका विषयको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए।
साथै, अध्ययनका क्रममा सम्बन्धित संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा पर्न सक्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो। महरले समितिको उद्देश्य तत्काल छानबिन गर्नु नभई म्यादी प्रहरीको पोसाक खरिदसँग सम्बन्धित उठेका प्रश्नको अध्ययन गर्नु भएकाले ‘छानबिन’ नभई ‘अध्ययन समिति’ गठन गर्न प्रस्ताव गरेका थिए। सोहीअनुसार मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0