मोबाइलमा चेतावनी सन्देश आए नआत्तिन गृह मन्त्रालयको आग्रह, परीक्षण हुँदै

Nov 23, 2026 - 18:42
 0  15
मोबाइलमा चेतावनी सन्देश आए नआत्तिन गृह मन्त्रालयको आग्रह, परीक्षण हुँदै

ईर्साद अन्सारी

७ मंसिर,काठमाडौं । विपद्का समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ । 

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा आज बेलुकी ५:३० बजेदेखि काठमाडौंका केही क्षेत्रमा प्रणालीको परीक्षण गर्न लागेको जनाएको छ ।

 मन्त्रालयका अनुसार २ जी (2G) मोबाइल सञ्जालमार्फत गरिने परीक्षणका क्रममा तोकिएका क्षेत्रभित्र रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ ।

 उक्त सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश / TEST ALERT) भनेर उल्लेख गरिएको हुनेछ ।परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

 मोबाइलमा चेतावनी ध्वनि वा सन्देश प्राप्त भएमा नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले यो कुनै विपद्को सूचना नभई विशुद्ध प्राविधिक परीक्षण मात्र भएको स्पष्ट पारेको छ ।

नेपालमै विकसित मोबाइलमा आधारित यस प्रविधिमार्फत बाढी, पहिरो, भूकम्पलगायतका विपद्को जोखिममा रहेका क्षेत्रमा तत्काल पूर्वसूचना तथा सुरक्षासम्बन्धी निर्देशन पुर्‍याउन सकिनेछ ।

 यस प्रणाली सञ्चालनमा आएपछि विपद्का बेला जोखिममा रहेका नागरिकलाई समयमै सचेत गराउन, आवश्यक सावधानी अपनाउन र सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0