मन्दिर दर्शन गर्न निस्किएको परिवारमा बज्रपात, भीषण दुर्घटनामा १३ जनाको मृत्यु
१३ मंसिर,बारा । भारतको झारखण्डस्थित रामगढ जिल्लामा भएको भीषण सडक दुर्घटनामा बिहारको नालन्दा जिल्लाका एकै परिवारका १३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आइतबार बिहान करिब २ बजे राँची–पटना राष्ट्रिय राजमार्ग (एनएच–३३) अन्तर्गत कुज्जु क्षेत्रको पैंकी गाउँनजिक स्कर्पियो गाडी अर्को भारी वाहनसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कर्पियोमा सवार १४ जनामध्ये १३ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकहरू बिहारको नालन्दा जिल्लास्थित बेन थाना क्षेत्रको जंघारो गाउँका बासिन्दा रहेको बताइएको छ।
परिवारका सदस्यलाई सरकारी शिक्षकको जागिर लागेको खुसीमा उनीहरू झारखण्डको प्रसिद्ध रजरप्पा मन्दिरमा पूजा गर्न जाँदै थिए। तर मन्दिर पुग्नुअघि नै दुर्घटनाले परिवारको खुसीलाई शोकमा परिणत गरिदिएको छ।
प्रारम्भिक विवरणअनुसार स्कर्पियो अगाडि गुडिरहेको अर्को वाहनसँग ठोक्किएको थियो। दुर्घटनापछि गाडी क्षतिग्रस्त भएको र घटनास्थलमा उद्धारकार्य गरिएको थियो। घाइतेलाई रामगढ सदर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५० हजार रुपैयाँ सहायता दिने घोषणा गरेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दुर्घटनामा ज्यान गुमाउनेहरू बिहारका बासिन्दा भएकाले नालन्दा जिल्लाको जंघारो गाउँमा शोक छाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0