कांग्रेसको सरकारलाई चेतावनी : संयमलाई कमजोरी नठान्नू, विधि र संवैधानिक मर्यादामा बस्न आग्रह
१२ मंसिर,काठमाण्डाैं । नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र नागरिक अधिकारको रक्षाका लागि सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारलाई आफ्नो कार्यशैली सच्याउन, विधि र संवैधानिक मर्यादाभित्र रहेर शासन सञ्चालन गर्न तथा षड्यन्त्र र प्रियतावादभन्दा राष्ट्रिय हित र जनअपेक्षालाई प्राथमिकतामा राख्न सचेत गराएको हो।
बैठकपछि सार्वजनिक निर्णयमा कांग्रेसले सरकार असफल भएको हेर्ने आफ्नो चाहना नरहेको स्पष्ट पार्दै देशको सफलता नै आफ्नो प्राथमिकता भएको जनाएको छ।
सरकारका राम्रा काममा सहयोग रहने उल्लेख गर्दै कांग्रेसले सरकारको सफलता वा असफलताभन्दा संविधान, लोकतन्त्र, राष्ट्रिय हित, नागरिकका अधिकार र जनजीविकाका सवाललाई सर्वोपरि मानेको जनाएको छ।
कांग्रेसले आफ्नो संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नबुझ्नसमेत सरकारलाई सचेत गराएको छ।
बैठकले संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका कामको निरन्तर निगरानी, खबरदारी र आवश्यक प्रतिरोध गर्दै प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
साथै, संविधान र लोकतन्त्रको रक्षा, विधिको शासन तथा नागरिक अधिकार र जनजीविकासँग सम्बन्धित विषयलाई संसद्मा सशक्त रूपमा उठाउन संसदीय दललाई निर्देशन दिएको कांग्रेसले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0