हसिनाको गृहजिल्ला गोपालगञ्जमा सरकारी सेवा प्रभावित, रेलसेवादेखि प्रहरी चौकी र बजेटसम्म रोक्का

Nov 27, 2026 - 11:19
 0  14
हसिनाको गृहजिल्ला गोपालगञ्जमा सरकारी सेवा प्रभावित, रेलसेवादेखि प्रहरी चौकी र बजेटसम्म रोक्का

११ मंसिर,काठमाण्डाैं  । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा राजनीतिक तनावपछि सरकारी सेवा, रेल यातायात र स्थानीय विकास निर्माणका काम प्रभावित भएका छन्।

सरकारले स्थानीय तहलाई उपलब्ध गराउने विकास बजेटको किस्ता रोक्का गरेको छ भने आगजनीपछि दुई प्रहरी चौकीको नियमित कामकाजसमेत ठप्प भएको छ। बंगलादेशका स्थानीय सञ्चारमाध्यमका अनुसार नोभेम्बर १५ मा गोपालगञ्जमा पूर्वप्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगका समर्थकले गरेको प्रदर्शन हिंसात्मक बनेपछि जिल्लाको जनजीवन प्रभावित भएको हो।

 प्रदर्शनका क्रममा सरकारी संरचना, प्रहरी चौकी तथा राजनीतिक दलका नेताहरूको सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि सुरक्षा चुनौती बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ।

सरकारले गोपालगञ्जका जिल्ला परिषद्, उपजिल्ला परिषद्, नगरपालिका र युनियन परिषद्लाई उपलब्ध गराउने आर्थिक सहायताको तेस्रो किस्ता रोक्ने निर्णय गरेको छ। विकास निर्माणका लागि स्वीकृत करिब पाँच अर्ब टाका बराबरको बजेटसमेत रोक्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।रेल यातायात पनि प्रभावित भएको छ।

गोपालगञ्ज जोड्ने रेलसेवा बन्द हुँदा स्थानीय बासिन्दालाई राजधानी ढाकासहित अन्य क्षेत्रमा आवतजावत गर्न कठिनाइ भएको छ। रेलसेवा पुनः सञ्चालन हुने निश्चित समयसमेत सार्वजनिक भएको छैन। त्यस्तै, नोभेम्बर १७ मा टुङ्गीपारा र नोभेम्बर १९ मा मुक्सुदपुर प्रहरी चौकीमा आगजनी तथा तोडफोड भएपछि दुवै चौकीको नियमित सेवा अवरुद्ध भएको छ।

 ती क्षेत्रका प्रहरीसम्बन्धी सेवा गोपालगञ्ज सदर प्रहरी चौकीमार्फत व्यवस्थापन भइरहेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राजनीतिक तनावको असर मोबाइल वित्तीय कारोबार र सर्वसाधारणको दैनिक आर्थिक गतिविधिमा समेत परेको छ। प्रहरी चौकीको सेवा अवरुद्ध हुँदा सुरक्षा र उजुरी दर्तासम्बन्धी काममा पनि समस्या देखिएको छ।

 यसैबीच, अवामी लिगले रेलसेवा पुनः सञ्चालन, प्रहरी चौकीको सेवा बहाली र रोक्का गरिएको स्थानीय विकास बजेट फुकुवा गर्न माग गरेको छ। पार्टीले सरकारको कदमले राजनीतिक विवादको असर सर्वसाधारण नागरिकमाथि परेको आरोप लगाएको गोपालगञ्जमा पछिल्लो घटनाक्रमले पूर्वप्रधानमन्त्री हसिनाको राजनीतिक आधार क्षेत्र मानिने जिल्लामा सुरक्षा र प्रशासनिक अवस्था चुनौतीपूर्ण बनेको देखाएको छ।

 राजनीतिक विवाद समाधान नहुँदा स्थानीय नागरिकको आवागमन, सार्वजनिक सेवा र विकास निर्माण थप प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।

एजेन्सी तथा बंगलादेशका स्थानीय सञ्चारमाध्यमको सहयोगमा।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0