मधेस सरकारले कर्मचारी व्यवस्थापनमा गर्यो तीन महत्वपूर्ण निर्णय
४ असोज,बारा । मधेस प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले तीन महत्वपूर्ण निर्णय गरेको छ।
प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने, मुख्यमन्त्री तथा मन्त्रीसहित प्रदेशसभा पदाधिकारी तथा सदस्यका स्वकीय सचिवालयको कर्मचारी सङ्ख्या पुनरावलोकन गर्ने र स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास तथा सेवा व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था सुधार गर्ने निर्णय गरेको हो।
बैठकले स्वास्थ्य सेवा अत्यावश्यक तथा संवेदनशील क्षेत्र भएकाले मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण टुङ्गो नलागेसम्म आवश्यक जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। यसबाट स्वास्थ्य संस्थामा आवश्यक जनशक्तिको अभाव हुन नदिई सेवा प्रवाहलाई निरन्तरता दिने सरकारको उद्देश्य छ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्री र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको निजी तथा स्वकीय सचिवालयमा रहेको संगठनात्मक संरचना र कर्मचारी सङ्ख्या पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन पनि स्वीकृत गरिएको छ।
मन्त्री भट्टराईका अनुसार अध्ययन प्रतिवेदनमा दिइएका सुझाव तथा सिफारिसलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कार्यान्वयन गरिनेछ। सचिवालयको जनशक्तिलाई कार्यबोझ, आवश्यकता र जिम्मेवारीका आधारमा व्यवस्थित गर्दै सार्वजनिक स्रोतको मितव्ययी तथा प्रभावकारी उपयोग गर्ने सरकारको नीति रहेको उनले बताए।
यसैगरी, स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास, सेवा, सर्त तथा सुविधासम्बन्धी व्यवस्था थप स्पष्ट र व्यवस्थित बनाउन स्थानीय तह (गठन तथा सञ्चालन) सम्बन्धी ऐन, २०८१ संशोधन विधेयकको मस्यौदा प्रदेशसभाको आगामी अधिवेशनमा पेश गर्ने निर्णय गरिएको छ।
मन्त्री भट्टराईले स्थानीय तहमा कर्मचारी व्यवस्थापनसँग जोडिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्दै जनशक्तिको स्थायित्व र वृत्ति विकास सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी संशोधन अघि बढाउन लागिएको बताए।
प्रदेश सरकारले कर्मचारी व्यवस्थापनमा देखिएका समस्या सम्बोधन गर्दै स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0