भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४८९ पुग्यो, शव व्यवस्थापनका लागि भारतबाट ६ हजार झोला मगाइयो
१२ भदाै,काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा बढेको बहावका कारण भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ८९ पुगेको छ ।
बाढीले बगाएर ल्याएका शवहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीले नदी तटीय क्षेत्रबाट सङ्कलन गरिरहेका छन् । नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीका नदी किनारमा शव भेटिएका छन् । बाढीमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको समेत अभाव देखिएको छ ।
शव प्याक गर्न प्रयोग गरिने झोला पर्याप्त नभएपछि सरकारले भारतबाट ६ हजार थान झोला मगाएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताएका छन् । उनका अनुसार शव व्यवस्थापनका लागि आवश्यक ६ हजार थान ब्याग भारतबाट मगाइएको हो ।
ती झोला शुक्रबार नै नेपाल आइपुग्ने बताइएको छ । यसैबीच, नदी तटीय क्षेत्रमा भेटिएका अधिकांश शवको पहिचान हुन सकेको छैन । सुरक्षा अधिकारीहरूका अनुसार अहिलेसम्म ६ जनाको मात्र शव सनाखत भएको छ । सनाखत भएका शवको पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।
बाढीपछि नदी तटीय क्षेत्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ भने बेपत्ता व्यक्तिको खोजी र भेटिएका शवको पहिचान तथा व्यवस्थापनलाई सुरक्षा निकायले तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0