भारतको समुद्रमा शक्तिशाली चक्रवाती आँधी ‘अकवान’, १४ मिटरसम्म अग्ला छाल उठ्ने चेतावनी
४ मंसिर,काठमाण्डाैं । भारतको बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘अकवान’का कारण समुद्री क्षेत्रमा जोखिम बढेको छ।
भारतको मौसम विभागले आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा असामान्य रूपमा अग्ला छाल उठ्ने चेतावनी जारी गरेको छ।
मौसम विभागका अनुसार चक्रवाती आँधी उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शुक्रबार (नोभेम्बर २०) दिउँसोसम्म उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ।
आँधी तटीय क्षेत्रमा पुग्दा हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटर र झोक्कासहित ११० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ। समुद्री क्षेत्रमा अवस्था थप जोखिमपूर्ण बन्न सक्ने भन्दै मौसम विभागले केही स्थानमा ९ देखि १४ मिटरसम्म अग्ला छाल उठ्न सक्ने चेतावनी दिएको छ।
तटीय क्षेत्रका होचा बस्तीमा समुद्री पानी पस्न सक्ने सम्भावना पनि औँल्याइएको छ।विशेषगरी आन्ध्र प्रदेशका नरसापुर, काकिनाडा, विशाखापट्टनम आसपास तथा ओडिशाको गोपालपुर र पुरी क्षेत्रलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै माछा मार्न समुद्रमा नजान माछा मार्ने समुदायलाई निर्देशन दिइएको छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी सूचना पछ्याउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैबीच पश्चिम बंगाल, झारखण्ड र भारतका पूर्वोत्तर केही क्षेत्रमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।फाेटाे:आउटलुक ईन्डिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0