बिलबिजकबिनाका ६३ थान मोबाइलसहित चितवनमा दुई जना पक्राउ
१९ असाेज,भरतपुर । चितवन प्रहरीले बिलबिजकबिना बिक्री तथा ओसारपसार भइरहेको अवस्थामा ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१० बस्ने ४१ वर्षीय दिपक प्रसाईले वडा नं. १ र १० मा सञ्चालन गरेको दिपक मोबाइल पसलमा बिलबिजकबिना मोबाइल बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा खानतलासी गरेको थियो।
आईतबार साँझ करिब ६ बजे गरिएको खानतलासीका क्रममा विभिन्न सिरिजका एप्पलका ५० थान आइफोन, सामसुङका ४, रेड्मीका २, एप्पलको १ थान आइप्याड र भिभोको १ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
मोबाइलसहित पसल सञ्चालक प्रसाईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको छ।
त्यस्तै, सोही दिन साँझ करिब ७ बजे भरतपुर महानगरपालिका–१ रामनगरमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तनहुँ व्यास नगरपालिका–२ का २८ वर्षीय उमान्नद भुषाललाई पक्राउ गरेको छ।
रामनगरबाट जुगेडींतर्फ जाँदै गरेका भुषालको झोला खानतलासी गर्दा बिलबिजकबिना विभिन्न सिरिजका एप्पलका ५ थान आइफोन फेला परेको प्रहरीले जनाएको छ।
बरामद मोबाइलसहित भुषाललाई पनि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0