बाढीले पुल बगाएपछि बागमती प्रदेश सरकारको पहलमा देवीघाटमा तुईन सञ्चालन

Sep 6, 2026 - 08:16
 0  6
बाढीले पुल बगाएपछि बागमती प्रदेश सरकारको पहलमा देवीघाटमा तुईन सञ्चालन

ईर्साद अन्सारी

२१ भदाै,काठमाण्डाैं  । बागमती प्रदेश सरकारले नुवाकोटको देवीघाटमा तुईन जडान गरी सञ्चालनमा ल्याएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि वारिपारि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई लक्षित गरी तुईन सञ्चालनमा ल्याइएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनले “जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ” भन्ने प्रतिबद्धताका साथ सरकार अघि बढिरहेको बताएका छन्।

मुख्यमन्त्री थापा मगरका अनुसार प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा देवीघाटमा तुईन जडान गरी सञ्चालनमा ल्याइएको हो। तुईन सञ्चालनमा आएपछि त्रिशूली नदी वारिपारि आवतजावत गर्न तथा खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्री ओसारपसार गर्न स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री थापा मगरले विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवन सहज बनाउने काम सानो देखिए पनि यसको महत्व ठूलो हुने बताएका छन्। आवश्यकताअनुसार यस्ता पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने उनले बताएका छन्।

 देवीघाटमा तुईन जडान तथा सञ्चालनका लागि सक्रियता र समन्वयका साथ खटिएका पूर्वाधार विकास कार्यालय, नुवाकोटका कर्मचारी तथा प्राविधिकलाई मुख्यमन्त्री थापा मगरले धन्यवाद दिएका छन्।

 भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पुल बग्दा स्थानीयको नियमित आवतजावत प्रभावित भएको थियो। तुईन सञ्चालनमा आएसँगै दैनिक आवतजावतसँगै अत्यावश्यक सामग्री ओसारपसारमा स्थानीयवासीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0