पोखरा स्कुल बस दुर्घटना: छानबिनका लागि पोखरा महानगरद्वारा ५ सदस्यीय समिति गठन

Oct 9, 2026 - 13:12
 0  3
पोखरा स्कुल बस दुर्घटना: छानबिनका लागि पोखरा महानगरद्वारा ५ सदस्यीय समिति गठन

२३ असाेज,पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

 महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्।

 समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी सत्यतथ्यसहित पाँच दिनभित्र प्रतिवेदन पेस गर्नेछ। साथै, विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे आवश्यक सुझावसमेत दिनेछ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताएका छन्। उनले यस्ता दुःखद घटना दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। दुर्घटनाका बेला विद्यार्थी, चालक र सहचालक गरी बसमा २२ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्।

घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै यस्ता घटना पुनः हुन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको महानगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0