नेपाली कांग्रेसको १५ौँ महाधिवेशन आजदेखि खुलामञ्चमा सुरु: सोसलिस्ट इन्टरनेसनलकी काम्बिवासहित विदेशी पाहुना सहभागी, असोज २१ र २२ गते मतदानमार्फत नयाँ नेतृत्व र नीति चयन गरिने
१८ असाेज,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा नीतिगत दिशा तय गर्ने भएकाले यसलाई कांग्रेसभित्रको महत्वपूर्ण राजनीतिक जमघटका रूपमा हेरिएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कार्यक्रम छ। असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौं आएका छन्। केही प्रतिनिधि आउने क्रमसमेत जारी रहेको कांग्रेसले जनाएको छ।
प्रतिनिधिहरूको बसोबासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था मिलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।
महाधिवेशन उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत निमन्त्रणा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ।
कांग्रेसले भारत, चीन, अमेरिका लगायतका मुलुकका राजनीतिक दलका प्रतिनिधि तथा विदेशी पाहुनालाई पनि निमन्त्रणा गरेको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य मुलुकका राजनीतिक दलबाट प्रतिनिधि तथा शुभकामना सन्देशसमेत प्राप्त भएको कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्च तयार गरिएको छ।
बन्दसत्र सञ्चालनका लागि तीनवटा हलको व्यवस्था गरिएको छ। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क तथा प्रतिनिधिका लागि भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ। महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ।
उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्। असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ। त्यसपछि असोज २१ र २२ गते निर्वाचनमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन गरिनेछ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान खुलामञ्चसहित राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्ने तयारी भइरहेको छ।
कांग्रेसले यसपटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरेको छ। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी राजनीतिक रणनीति, संगठन सञ्चालन र निर्वाचनकेन्द्रित गतिविधिलाई समेत प्रभावित गर्ने भएकाले कांग्रेसभित्र मात्रै नभई राष्ट्रिय राजनीतिमा समेत यसको प्रभाव पर्ने देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0