देशभर बाढी–पहिरोको बितण्डा : दर्जनौँ राजमार्ग अवरुद्ध, यात्रा गर्नुअघि सतर्क रहन प्रहरीको आग्रह

Sep 27, 2026 - 08:09
 0  5
देशभर बाढी–पहिरोको बितण्डा : दर्जनौँ राजमार्ग अवरुद्ध, यात्रा गर्नुअघि सतर्क रहन प्रहरीको आग्रह

११ असाेज,काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

 नेपाल प्रहरीले असोज ११ गते बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी तथा साना सवारी साधन मात्र सञ्चालनमा छन्। लुम्बिनी प्रदेशमा पाल्पाको माथागढी गाउँपालिका–१ अगाहाखोला नजिक पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

गुल्मी, दाङ, अर्घाखाँची, रोल्पालगायत जिल्लाका विभिन्न सडकखण्डमा पनि बाढी तथा पहिरोका कारण यातायात प्रभावित छ। बागमती प्रदेशमा पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ, टोखा–छहरे तथा अन्य सडकखण्डमा बाढी–पहिरोको जोखिम र अवरोध देखिएको छ।

धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ भने काभ्रेको बीपी राजमार्गमा समेत आवागमन प्रभावित छ। अरनिको राजमार्गको धुलिखेल क्षेत्रमा एकतर्फी यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

 कोशी प्रदेशमा पाँचथरको तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध छन्। खोटाङको हलेसीतुवाचुङ नगरपालिका–१ कटुवामा मध्यपहाडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। इलाम, भोजपुर, सोलुखुम्बु र उदयपुरमा पनि सम्भावित बाढी–पहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

 गण्डकी प्रदेशमा तनहुँको पृथ्वीराजमार्ग, म्याग्दीको बेनी–जोमसोम सडक, पर्वतको मध्यपहाडी लोकमार्ग, बागलुङका विभिन्न सडक तथा मुस्ताङको जोमसोम–कोरला सडकखण्ड प्रभावित भएका छन्। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा र म्याग्दे गाउँपालिका–६ सेवामा पहिरोका कारण पृथ्वीराजमार्ग प्रभावित भएको छ।

 कर्णाली प्रदेशमा कालिकोटको कर्णाली राजमार्ग, सल्यानको राप्ती राजमार्ग, हुम्लाको कर्णाली करिडोर र मुगुको नाग्म–गमगढी सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिममा डोटी जिल्लाभर सम्भावित बाढी–पहिरोको जोखिमका कारण असोज १० गते बिहानदेखि असोज ११ गते बिहानसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको थियो।

 डडेल्धुराको केआईसिंह राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भए पनि साना सवारी साधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केही सडकमा रातिको समयमा सवारी आवागमन रोकिएको छ भने अत्यावश्यक सेवा, एम्बुलेन्स, दमकल तथा आवश्यक खाद्यान्न बोकेका सवारी साधनलाई सम्बन्धित प्रहरी इकाइसँग समन्वय गरी सञ्चालन गर्न दिइएको छ।

 लगातार वर्षा भइरहेकाले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भन्दै प्रहरीले यात्रु तथा चालकलाई सम्बन्धित सुरक्षा निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0