दुर्गा प्रसाईंको सरकारमाथि प्रहार : ‘अर्थतन्त्र तहसनहस भयो, अब जनताले विकल्प खोज्ने बेला आयो’
२९ भदाै,काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सरकारको अदूरदर्शी नीतिका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको आरोप लगाएका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले देशको राजनीतिक अवस्था, अर्थतन्त्र र युवाको विदेश पलायनलगायतका विषयमा सरकारको आलोचना गरे। उनले बैंक तथा वित्तीय संस्थामा ठूलो रकम थुप्रिए पनि लगानीको वातावरण बन्न नसकेको दाबी गरे। प्रसाईंका अनुसार स्पष्ट भिजन, शान्ति–सुरक्षा र लगानीमैत्री वातावरणको अभावका कारण बाह्य तथा आन्तरिक लगानी आकर्षित हुन सकेको छैन।
वर्तमान अवस्थाका कारण युवाहरू विदेशिन बाध्य भइरहेको उनको भनाइ थियो। उनले आफूलाई बाह्य शक्ति वा कुनै संगठनसँग जोडेर प्रचार गर्ने गरिएको भन्दै त्यसको समेत खण्डन गरे। आफूलाई अरूको घर वा देश जलाउने राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पार्दै उनले भने, ‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन ।
देश जलाउन पनि छैन, सिंहदरबार जलाउनु पनि छैन । म अर्काको घर जलाउ भनेर त जान्नँ । तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त ।’ देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रसाईंले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको जगेर्ना हुन नसक्ने दाबीसमेत गरे।
उनले वर्तमान शासकहरूको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढिरहेको जिकिर गर्दै अब जनताले राजनीतिक विकल्प खोज्ने बेला आएको बताए। प्रसाईंले सरकारमाथि विभिन्न आरोप लगाउँदै मुलुकलाई सही दिशामा अघि बढाउन स्पष्ट दृष्टिकोण र प्रभावकारी नेतृत्व आवश्यक रहेको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0