ढाकामा लगातार दोस्रो दिन बम विस्फोट र बसमा आगजनी, रिक्सा चालक घाइते

Sep 20, 2026 - 10:12
 0  6
ढाकामा लगातार दोस्रो दिन बम विस्फोट र बसमा आगजनी, रिक्सा चालक घाइते

४ असाेज,काठमाडौं । बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबारी र कमलापुर क्षेत्रमा गरी ६ वटा बम विस्फोट भएका छन् भने राजधानीका विभिन्न स्थानमा तीनवटा बसमा आगजनी गरिएको छ।

 जत्राबारीस्थित समाद सुपर मार्केटअगाडि शनिबार साँझ करिब ७ः४० बजे चारवटा बम विस्फोट हुँदा एक जना रिक्सा चालक घाइते भएका छन्। त्यसको केही घण्टापछि कमलापुर रेलवे स्टेसनको प्लेटफर्म नम्बर २ को टाढाको भागमा थप दुईवटा बम विस्फोट भएका थिए।

प्रहरीले रेलवे स्टेसनमा भएको विस्फोटमा मानवीय क्षति नभएको जनाएको छ। यसअघि शुक्रबार पनि ढाकाका विभिन्न स्थानमा बम विस्फोट भएका थिए। जत्राबारी प्रहरी चौकी, मालिबाग, अगरगाउँ, महाखाली, मगबजार, रामपुरा र ढाका कलेज आसपासमा विस्फोटका घटना भएको रिपोर्ट सार्वजनिक भएको थियो। विस्फोटसँगै शनिबार साँझ राजधानीका तीन स्थानमा बसमा आगजनी गरिएको छ।

 मिरपुर–११ स्थित जमजम टावरनजिक साँझ करिब ७ः१३ बजे शिखोर परिवहनको बसमा आगो लगाइएको थियो। त्यसैगरी मिरपुर–१ को अन्सार क्याम्प क्षेत्रमा अभिजात परिवहनको बस तथा सेन्ट्रल बड्डास्थित गाडी ग्यारेजनजिक पार्क गरिएको अलिफ परिवहनको बसमा राति करिब ८ बजे आगजनी गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

 तीनै घटनामा मानवीय क्षति नभएको बताइएको छ। लगातार भइरहेका विस्फोट र आगजनीमा कसको संलग्नता छ भन्ने अहिलेसम्म खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिको पहिचान र घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

पछिल्ला दुई दिनमा राजधानीका विभिन्न स्थानमा विस्फोट तथा सार्वजनिक यातायातमा आगजनीका घटना दोहोरिएपछि ढाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0