घरको आँगनबाट हराएका १५ महिनाका बालक ११ दिनपछि सकुशल भेटिए, अपहरण आरोपमा महिला पक्राउ
ईर्साद अन्सारी
३० भदौ,जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमलेश महतोका छोरा सिधान्त भदौ १८ गते अपराह्न करिब ४ः४० बजे घरको आँगनमा खेलिरहेका बेला हराएका थिए। बालकको खोजीका लागि प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको टोली परिचालन गरिएको थियो।
तालिमप्राप्त कुकुर तथा प्राविधिक अनुसन्धानको समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा कमला नगरपालिका–९ हथलेट्वाकी पासवानले बालकलाई अपहरण गरी स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको खुलेको डिएसपी ओमप्रकाश खनालले बताए।
प्रहरीले धनुषाका नाकामा निगरानी बढाएपछि भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे पासवानले बालकलाई आफ्नो घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्। प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको छ। बालकको अवस्था सामान्य रहेको छ।
बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी पासवानलाई प्रहरीले सोही दिन साँझ ३ः४५ बजे विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजाबाट पक्राउ गरेको हो। उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0