गृहका सचिवालय सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै अडियो बनाउने व्यक्ति पक्राउ, बाँकेमा ६ मुद्दा दर्ता
१२ असाेज,काठमाडौं । गृह मन्त्रीका सचिवालय सदस्यहरूसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ललाई पक्राउ गरिएको हो ।
सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा तथा सार्वजनिक मर्यादा विपरीत प्रसारण भएको अडियोबारे वास्तविकता बुझ्न प्रहरीले उनलाई सोधपुछ गर्न खोजेको थियो । सो क्रममा प्रहरी टोलीमाथि गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो । प्रशासनबाट दुई दिनको म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मल्लको सीआरएस विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीविरुद्ध विभिन्न कसुरमा ६ वटा मुद्दा दर्ता भएको खुलेको छ । प्रहरी विवरणअनुसार उनीविरुद्ध २०८३ साउन २६ गते दूरसञ्चार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ ।
उक्त मुद्दामा उनी फरार रहेको जनाइएको छ । त्यस्तै, २०८१ चैत ६ गते अभद्र व्यवहार, २०७९ जेठ १३ गते बैंकिङ कसुर, २०७८ माघ ५ गते अभद्र व्यवहार, २०७८ साउन ५ गते अभद्र व्यवहार र २०७७ फागुन २६ गते ठगीसम्बन्धी कसुरमा समेत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मल्लमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0