गाँजा तस्कर भाग्न खोजेपछि प्रहरीले चलायो २ राउण्ड हवाई फायर, ३० किलो गाँजासहित ३ पक्राउ
५ असोज,बारा । पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलबाट प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा आइतबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाँजा ओसारपसार भइरहेको अवस्थामा केही व्यक्तिलाई फेला पारेको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ३० किलो गाँजा बरामद गर्दै पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनीलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा सोही स्थानकी ७५ वर्षीया भुटी भन्ने भुरी चौधरी पनि गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि उनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0