प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : दबाब र प्रभावमा नपरी काम गर्नू
ईर्साद अन्सारी
२६ असाेज,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।
प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई प्रहरी सेवाको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरेका छन् । १६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिममा हासिल गरेको ज्ञान र सीप व्यवहारमा उतार्नुपर्ने बताएका छन् ।
उनले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्दै निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भेदभाव नगरी कर्तव्यमा अडिग रहन निर्देशन दिएका छन् ।
प्रहरीको काम आम नागरिकले अनुभूत गर्ने गरी हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, अपराधका स्वरूप र प्रवृत्ति बदलिँदै गएकाले अनुसन्धानमा सूचना प्रविधिको सही प्रयोग गर्नुपर्ने उनले बताएका छन् ।
अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उनको भनाइ छ । अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले बताएका छन् ।
उनले दीक्षित प्रहरी अधिकृतहरूको कार्यसफलताको कामना गर्दै अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गरेका छन् । साथै, समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0