काठमाडौं । पहिरो र बाढीका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, बेनी–जोमसोमदेखि कर्णाली करिडोरसम्म प्रभावित

Sep 30, 2026 - 18:38
 0  2
काठमाडौं । पहिरो र बाढीका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, बेनी–जोमसोमदेखि कर्णाली करिडोरसम्म प्रभावित

१४ असाेज,काठमाडौं । पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

 नेपाल प्रहरीले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध रहेको जनाएको छ। प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–४ टिकाभैरवस्थित चारधारे सडक पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ।

गण्डकी प्रदेशमा मनाङको बेँसीसहर हुँदै खाङसार जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ। म्याग्दीमा रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छ।

 त्यस्तै बेनी नगरपालिका–४ घुमाउने भीरमा पहिरोका कारण बेनी–दरबाङ सडक पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रेभीर तथा लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ सेल्फीडाँडामा पहिरो जाँदा जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

पर्वतको जलजला गाउँपालिका–७ लामाबगर र केराबारीमा पहिरोका कारण मालढुङ्गा–बेनी सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि बुधबार साँझ पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

पाल्पाको माथागढी गाउँपालिका–१ धैरेनीमा सिद्धार्थ राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेको छ। कर्णाली प्रदेशको हुम्लामा पनि पहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भएका छन्। खार्पुनाथ गाउँपालिका–१ मुसेडी र सर्केगाड गाउँपालिका–६ स्यालतडीमा कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

 त्यस्तै नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पहिरोका कारण सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

रसुवामा मुख्य राजमार्गका सबै सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0