उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न, राष्ट्रिय पर्वको रूपमा फैलिँदै लोकआस्था

Nov 16, 2026 - 06:54
 0  12
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न, राष्ट्रिय पर्वको रूपमा फैलिँदै लोकआस्था

३० कातिक,बारा । लोकआस्था, श्रद्धा र प्रकृतिप्रतिको सम्मानको महान् पर्व छठ आज उदाउँदो सूर्यदेवलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले जलाशय, नदी, पोखरी तथा छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन्।

 यस वर्षको छठ पर्वमा धार्मिक आस्थासँगै राजनीतिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिताले पनि विशेष चर्चा पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता लामिछानेसँगै जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीको छठघाटमा पुगेर पूजाआजा तथा छठ पर्वमा सहभागिता जनाएका थिए।

उनीहरू मिथिला संस्कृतिको पहिरनमा छठघाट पुगेका थिए। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, सभामुख डीपी अर्याललगायत विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तित्वहरूको तराई–मधेश क्षेत्रमा भएको आगमन र छठ पर्वप्रतिको सहभागिताले पर्वको महिमा र रौनक थप बढाएको छ।

कुनै समय मुख्यतः तराई–मधेश क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय नेपालको हिमाल, पहाड र तराई सबै क्षेत्रमा विस्तार हुँदै गएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा बस्तीमा समेत छठघाट निर्माण गरी श्रद्धालुहरूले सामूहिक रूपमा यो पर्व मनाउन थालेका छन्।

यसले छठलाई क्षेत्रीय धार्मिक परम्पराबाट राष्ट्रिय सांस्कृतिक पहिचानको रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ। छठ पर्वको बढ्दो लोकप्रियता र सामाजिक स्वीकार्यतासँगै राज्यले पनि यसको महत्त्वलाई आत्मसात् गरेको देखिन्छ। सरकारले छठ पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ।

यसले पर्वप्रतिको राष्ट्रिय सम्मान र सामाजिक महत्त्वलाई थप उजागर गरेको छ। सूर्यलाई जीवन, ऊर्जा र प्रकृतिको आधार मान्दै मनाइने छठ पर्वमा व्रतालुहरूले कठोर उपवास, शुद्धता र निष्ठाका साथ सूर्यदेव तथा छठी माताको पूजा गर्छन्।

 पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा छ। छठले धार्मिक आस्थासँगै परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा समाजको कल्याणको कामना गर्दछ।

 जातीय, भाषिक र भौगोलिक विविधताबीच सामाजिक सद्भाव, एकता र सांस्कृतिक सहअस्तित्वको सन्देश दिने भएकाले पनि यसको महत्त्व बढ्दै गएको छ। तराई–मधेशको मौलिक पहिचानका रूपमा रहेको छठ आज हिमाल, पहाड र तराईलाई जोड्ने साझा सांस्कृतिक उत्सव बन्दै गएको छ।

उदाउँदो सूर्यलाई अर्घ अर्पणसँगै सम्पन्न यस वर्षको छठले नेपाली समाजमा धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र राष्ट्रिय सद्भावको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0