अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा, भारतीय समकक्षी सीतारमणसहित उच्च अधिकारीसँग भेटवार्ता
१ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार बिहान भारत प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
विपद्पश्चात्को पुनर्निर्माण तथा दुई देशबीच आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषय भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ।
अर्थमन्त्री वाग्लेले भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा सहभागी हुने वाग्लेले सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्।
शुक्रबार साँझ साढे ७ बजे भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुने कार्यक्रम छ। भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यसपछि शनिबार बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी भएर उनी शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम रहेको छ। अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0