साइबर मुद्दामा दुर्गा प्रसाईं पक्राउ, तीन दिन हिरासतमा राख्न अदालतको आदेश
१२ असाेज,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सोमबार साइबर ब्युरोले म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
खतिवडा जेनजी आन्दोलनका क्रममा शहीद भएका रसिक खतिवडाकी आमा हुन् । प्रसाईंले शहीद रसिक खतिवडालाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको भन्दै खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । यसअघि पनि विभिन्न साइबर मुद्दामा प्रसाईं पक्राउ पर्ने र छुट्ने क्रम चल्दै आएको छ । पछिल्लो पटक पनि सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर उनी पक्राउ परेका हुन् ।
अदालतबाट तीन दिनको म्याद पाएसँगै साइबर ब्युरोले प्रसाईंमाथि थप अनुसन्धान अघि बढाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0