विवाहपञ्चमीको निम्तो दिन ६१ भारसहित ५२ जनाको टोली अयोध्या प्रस्थान
१२ मंसिर,जनकपुर । विवाहपञ्चमी महोत्सवमा भगवान् रामको जन्ती बनेर जनकपुरधाम आउन अयोध्यावासीलाई निमन्त्रणा दिन जनकपुरधामबाट ६१ वटा भारसहित ५२ जनाको टोली शनिबार अयोध्याका लागि प्रस्थान गरेको छ।
विश्व हिन्दू परिषद् नेपाल धनुषाको अगुवाइ तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा उक्त टोली व्यवसायिक रूपमा सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या प्रस्थान गरेको हो।
टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोष साहलगायत सहभागी छन्। मिथिलाको परम्पराअनुसार विवाहमा आदानप्रदान गरिने मिठाई, फलफूल, घरमै तयार पारिएका पारम्परिक परिकार, कपडा, फूलहा भाँडालगायत सामग्री भारमा राखिएको छ।
अयोध्या पुगेर तिलकोत्सव (छेका) कार्यक्रम आयोजना गरी विवाहपञ्चमीका दिन जन्तीका रूपमा जनकपुरधाम आउन अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिइने मेयर साहले जानकारी दिए।
उनले सरयू–कमला एक्सप्रेसको पहिलो व्यावसायिक रेल सेवामार्फत निमन्त्रणा लिएर अयोध्या जान पाएकोमा दुवै देशका प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरे।
नेपाल र भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा वैवाहिक सम्बन्धको प्रतीकका रूपमा मनाइँदै आएको विवाहपञ्चमी महोत्सव यस वर्ष मंसिर २८ गते आयोजना हुँदैछ।
साताव्यापी रूपमा मनाइने यस महोत्सवमा अयोध्याबाट जन्ती आउने परम्परा रहिआएको छ। यस वर्ष अयोध्यादेखि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनमा आएकाले विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालु तथा पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0