वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्नुअघि अवस्था बुझ्न प्रहरीको आग्रह

Sep 29, 2026 - 07:30
 0  8
वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्नुअघि अवस्था बुझ्न प्रहरीको आग्रह

ईर्साद अन्सारी

१३ असाेज,काठमाण्डाैं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । 

नेपाल प्रहरीले मंगलबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न राजमार्ग पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध रहेको जनाएको हो । प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथअन्तर्गत टिकाभैरव–चारघरे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

 धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, गौमतीखोला र गजुरी गाउँपालिका–२ चालिसे तथा परेवाभीर क्षेत्रमा पहिरोका कारण सडक प्रभावित भए पनि केही स्थानमा एकतर्फी यातायात सञ्चालनमा रहेको छ ।

काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्तीबेंसी र चारसयबेंसी क्षेत्रमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ ।

 मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै पहिरो गएपछि हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशमा पनि विभिन्न सडकखण्ड पहिरोका कारण अवरुद्ध छन् । मनाङको चामे–बेंसीसहर सडकखण्ड नासों गाउँपालिका–३ खोत्रोमा पूर्ण रूपमा अवरुद्ध छ ।

 बागलुङको कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगर, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत बैसरी तथा सुकेबगर र बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ घुमाउनेभीरमा यातायात पूर्ण रूपमा रोकिएको छ ।

 मुस्ताङको जोमसोम–कोरला सडकखण्डका काभ्रेभीर तथा सेल्फीडाँडा क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । पर्वतको मालढुंगा–बेनी सडकखण्डअन्तर्गत जलजला गाउँपालिका–७ केराबारीमा पनि यातायात ठप्प छ ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा पहिरोका कारण सडक अवरुद्ध छ ।

 लमजुङको मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–६ आँपचौर तथा तनहुँको पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका–२ राक्सेमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कर्णाली प्रदेशमा कालिकोटको कर्णाली राजमार्गअन्तर्गत शुभकालिका गाउँपालिका–१ गगने खोला तथा मुगुको नाग्म–गमगढी सडकखण्डअन्तर्गत छायानाथ रारा नगरपालिका–७ ताल्चामा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द रहेको छ ।

सोलुखुम्बुमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्गलगायत जिल्लाभित्रका सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन तथा पैदलयात्रीको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले वर्षाका कारण जुनसुकै समयमा पहिरो तथा बाढी आउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यात्रा गर्नुपर्ने अवस्थामा सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सडकमा पहिरो वा बाढी देखिए सुरक्षित स्थानमा रोकिन प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0