लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ द्वारा आन्दोलनकाे चेतावनी
२ असाेज,काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि संशोधन गरी पत्रपत्रिकाले पाउँदै आएको विज्ञापन रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलनको चेतावनी दिएको छ ।
महासंघले लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ खारेज गर्न माग गर्दै आएको छ । भदौ २५ गते सूचना तथा सञ्चारमन्त्रीसमक्ष राखिएको माग सम्बोधन नभएको र समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई भदौ २१ गते गरिएको पत्राचारसमेत बेवास्ता भएको महासंघले जनाएको छ ।
शुक्रबार महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले तीन दिनभित्र माग पूरा नभए असोज ५ गते सोमबारदेखि देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको छ ।
महासंघका अनुसार महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेरुजु नदेखाएको तथा प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धि गर्न सिफारिस गरेको विषयलाई समेत आधार बनाएर समस्या समाधान गर्न शुक्रबार पुनः सूचना तथा सञ्चारमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाइएको छ ।
महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ । माग सम्बोधन नभए पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलन गर्ने भन्दै महासंघले मातहतका समिति तथा सरोकारवाला सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा आन्दोलनको निर्णय सार्वजनिक गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0