"लागूऔषध मुद्दामा सप्तरीका रास्वपा नगर सभापति पार्टी कार्यालयबाटै पक्राउ
२८ असाेज,बारा । सिरहाको लहान प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ४७ वर्षीय मोहम्मद साबिर अली रहेका छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुङ्गा नगर सभापति रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार अलीलाई बुधबार बिहान सप्तरीको सुरुङ्गा नगरपालिका–५ कदमाहास्थित रास्वपाको नगर पार्टी कार्यालयबाट पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय लहानको टोलीले इलाका प्रहरी कार्यालय भेडियाको सहयोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट दक्षिणतर्फ राजमार्ग पार गर्न खोजिरहेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि कार छाडेर चालक तथा सवार व्यक्ति फरार भएपछि प्रहरीले कारको खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद गरेको जनाएको छ। उक्त घटनासम्बन्धी लागुऔषध मुद्दामा फरार रहेका अलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0