रुपन्देहीमा साढे दुई करोडका सुनका गरगहनासहित महिला पक्राउ

Oct 1, 2026 - 16:37
 0  7
रुपन्देहीमा साढे दुई करोडका सुनका गरगहनासहित महिला पक्राउ

१५ असाे,रुपन्देही । रुपन्देहीको सिद्धार्थनगरबाट झन्डै साढे दुई करोड रुपैयाँ मूल्य बराबरका सुनका गरगहनासहित एक महिला पक्राउ परेकी छन्।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षमा सामान जाँच गर्ने क्रममा ती महिलालाई गरगहनासहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 उनको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली, जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायत २ किलो ६०५ ग्राम गरगहना बरामद भएको थियो।

 बरामद गरगहनाको मूल्य २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरगहनाको परीक्षण तथा धातुको परिमाण यकिन गर्न सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। परीक्षणका क्रममा गरगहनामा रहेको सुनको मात्रा करिब १ किलो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

 प्रहरीका अनुसार बरामद गरगहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुनको लेपन गरिएको पाइएको छ। गरगहना र पक्राउ परेकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0