रसुवा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्रीसहित बागमती प्रदेश सरकार फिल्डमै परिचालन

Aug 28, 2026 - 12:37
 0  0
रसुवा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्रीसहित बागमती प्रदेश सरकार फिल्डमै परिचालन

१२ भदाै काठमाण्डाैं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार फिल्डमै परिचालित भएको छ।

मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा सम्बन्धित कर्मचारी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था र नागरिकका तत्कालीन आवश्यकता बुझिरहेका छन्।

मुख्यमन्त्री थापा मगर स्वयं प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरे। बाढीको सूचना प्राप्त भएलगत्तै प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक बसेर उद्धार, राहत, स्वास्थ्य उपचार, खाना, अस्थायी आवास तथा खानेपानीलाई प्राथमिकतामा राखी तत्कालीन कार्ययोजना बनाइएको मुख्यमन्त्री थापाले बताए। रसुवा, नुवाकोट तथा धादिङका प्रभावित क्षेत्रमा प्रदेश सरकारको संयन्त्र परिचालन गरी त्रिपाल, टेन्ट, खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको उनले बताए।

घर पूर्णरूपमा क्षति भएका वा जोखिमका कारण तत्काल घर फर्कन नसक्ने नागरिकका लागि सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था मिलाइएको उनले बताए। विद्यालय, सभा–हल, पार्टी प्यालेस तथा अन्य सुरक्षित स्थानलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने व्यवस्था अघि बढाइएको छ।

 विस्थापित नागरिकका लागि खाना, स्वच्छ खानेपानी, सरसफाइ, स्वास्थ्य तथा सुरक्षाको एकीकृत व्यवस्थापन भइरहेको प्रदेश सरकारले जनाएको छ। खानेपानीका स्रोत प्रभावित भएका स्थानमा वैकल्पिक स्रोतबाट पानी उपलब्ध गराउने तयारीसमेत गरिएको छ। बाढी प्रभावित नागरिकको उपचारका लागि धादिङ अस्पताल, त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलगायत स्वास्थ्य संस्थालाई परिचालन गरिएको छ।

आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीसहित थप स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गर्न तयारी अवस्थामा राखिएको मुख्यमन्त्री थापाले बताए। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग प्रत्यक्ष समन्वय भइरहेको उनले बताए। खोज तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, राहत सामग्री ढुवानी तथा प्रभावित क्षेत्रमा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए। प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा जनप्रतिनिधिबीच निरन्तर समन्वय गरी फिल्डबाटै वास्तविक अवस्था र नागरिकका आवश्यकता संकलन गर्ने काम भइरहेको मुख्यमन्त्री थापाले बताए।

 ‘सरकारको निर्णय कागजको विवरणबाट मात्र होइन, नागरिकको वास्तविक पीडाबाट निर्देशित हुनुपर्छ’ भन्ने मान्यताका साथ प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरेर निर्णय र कार्यान्वयनको प्रक्रिया अघि बढाइएको उनले बताए। बागमती प्रदेश सरकारले तत्कालीन उद्धार र राहतमा मात्र आफ्नो भूमिका सीमित नराखी सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणको तयारीसमेत थालेको छ।

बाढीबाट घर, सडक, पुल, खानेपानी, स्वास्थ्य संस्था, सार्वजनिक संरचना, कृषि तथा जीविकोपार्जनमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्राथमिकताका आधारमा पुनःस्थापना तथा पुनर्निर्माणको योजना अघि बढाइने मुख्यमन्त्री थापाले बताए। उनका अनुसार अबको प्राथमिकता सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारलाई निरन्तरता दिनु, राहत सामग्रीको अभाव हुन नदिनु, कुनै पनि नागरिकलाई खुला आकाशमुनि बस्न नदिनु, स्वास्थ्य जोखिम नियन्त्रण गर्नु तथा अवरुद्ध सडक र अत्यावश्यक पूर्वाधार सञ्चालनमा ल्याउनु हो।

मुख्यमन्त्री थापले विपद्को घडीमा सरकार कार्यालयमा बसेर निर्णय गर्ने निकाय मात्र नभई पीडित नागरिकको दुःखमा साथ दिने र संकटमा काँध थाप्ने अभिभावक भएको बताए। ‘विपद् ठूलो हुन सक्छ, तर नागरिकप्रतिको हाम्रो जिम्मेवारी र मानवीय संवेदना त्यसभन्दा ठूलो हुनुपर्छ,’ भन्दै उनले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरे। उद्धार, राहत तथा पुनःस्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै उनले तत्कालको पीडा सम्बोधनदेखि सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसम्म प्रदेश सरकार नागरिकसँगै रहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0