मुख्य राजमार्गमा अझै अवरोध, केही सडकखण्डमा राति सवारी सञ्चालनमा रोक
२९ भदाै,काठमाडौं । नेपाल प्रहरीका अनुसार भदौ २९ गते बिहान ६ बजेसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मतका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा अवरोध कायमै रहेको छ।
बागमती प्रदेशअन्तर्गत बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयअनुसार प्रतिबन्ध लगाइएको छ।
भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ।
बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको अवस्था हेरी अन्य सवारी साधनसमेत सञ्चालन गरिने जनाइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
उक्त अवरोध लामो समयसम्म रहने जनाइएको छ। त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटकै विदुर नगरपालिका–१० सिमटार क्षेत्रमा पनि बाढीका कारण सडक अवरोध रहेको प्रहरीले जनाएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। यस्तै, बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ।
शितलबजार क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। चितवनको तुइनखोला क्षेत्रमा सडक मर्मतका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीको चाप हेरी एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशअन्तर्गत मनाङको नासों गाउँपालिका–३ धारापानीमा बाटो निर्माणका कारण चामे–बेँसीसहर सडकखण्ड प्रभावित भए पनि साना सवारी साधन सञ्चालनमा रहेका छन्। प्रहरीले बाढी, पहिरो तथा सडकको अवस्थालाई ध्यानमा राखी सम्बन्धित सडकखण्डमा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0