मकवानपुरबाट दर्जनौँ चेकपोस्ट छल्दै मितेरी पुलसम्म कसरी पुग्यो ११ किलो चरेस?
१८ असोज,बारा । मकवानपुरबाट बारा र पर्साका विभिन्न सुरक्षा जाँचस्थल पार गर्दै ११ किलोभन्दा बढी चरेस वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुलसम्म पुगेको घटनाले नेपालतर्फको सुरक्षा निगरानीमाथि प्रश्न उठाएको छ।
नेपालबाट भारततर्फ ठूलो परिमाणमा लागूऔषध लैजान लागिएको सूचनाका आधारमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले शनिबार साँझ मितेरी पुल तथा सीमावर्ती क्षेत्रमा चेकजाँच गरेको थियो।
एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा खटिएको टोलीले वीरगञ्जबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई–रिक्सालाई रोकेर खानतलासी गर्दा रिक्साभित्र बोरामा लुकाएर राखिएको चरेस बरामद गरेको भारतीय सुरक्षा निकायले जनाएको छ।
बरामद चरेस २२ वटा कालो प्लास्टिकका प्याकेटमा तयार पारिएको अवस्थामा रहेको थियो। त्यसको तौल ११ किलो २४६ ग्राम रहेको जनाइएको छ।
चरेससहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–छपकैयाका ३९ वर्षीय अमर चौधरी रहेका छन्। उनलाई बरामद चरेस र ई–रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त चरेस मकवानपुरका विभिन्न स्थानबाट सङ्कलन गरी बारा र पर्साको बाटो हुँदै भारत लैजान खोजिएको खुलेको भारतीय पक्षले जनाएको छ। तर, घटनाको मुख्य प्रश्न भने नेपालतर्फकै सुरक्षा व्यवस्थामाथि उठेको छ ।
मकवानपुरबाट वीरगञ्जसम्मको लामो दूरीमा रहेका विभिन्न प्रहरी तथा सुरक्षा जाँचस्थल पार गर्दै ११ किलो २४६ ग्राम चरेस बोकेको ई–रिक्सा मितेरी पुलसम्म कसरी पुग्यो? राजमार्ग तथा भित्री सडकमा रहेका सुरक्षा जाँचस्थल पार गर्दै ठूलो परिमाणको लागूऔषध सीमासम्म पुगेको अवस्थामा नेपालतर्फ त्यसको पहिचान हुन नसक्नुले चेकजाँचको प्रभावकारिता, सूचना संयन्त्र र सम्भावित तस्करी सञ्जालबारे प्रश्न उठाएको छ।
सीमापार लागूऔषध नियन्त्रणमा भारतीय सुरक्षा निकायले चेकजाँचका क्रममा बरामद गरे पनि लागूऔषधको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा मकवानपुरदेखि वीरगञ्जसम्मको आपूर्ति सञ्जालबारे नेपालतर्फबाट समेत गम्भीर अनुसन्धान आवश्यक देखिन्छ।
घटनाले खुला सीमाको फाइदा उठाउँदै नेपालबाट भारततर्फ हुने लागूऔषध ओसारपसार रोक्न सीमामा मात्र नभई उत्पादन तथा सङ्कलन हुने क्षेत्रदेखि राजमार्ग र सीमावर्ती क्षेत्रसम्मको सुरक्षा निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0