भोटेकोशी बाढीपीडितलाई अस्थायी आवासको तयारी, चार जनासम्मको परिवारलाई मासिक १५ हजार
ईर्साद अन्सारी
५ असाेज,काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित नागरिकको आवास व्यवस्थापनसम्बन्धी कामलाई तीव्र गतिमा अघि बढाएका छन्।
यस क्रममा प्रभावित स्थानीय तहले समेत सरकारलाई आवश्यक सहयोग र सहजीकरण गरिरहेका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा विभिन्न विभागका चार महानिर्देशक तथा प्रभावित क्षेत्रका सबै पालिका प्रमुख सहभागी छन्। उनीहरूले आफ्नो क्षेत्रको आवश्यकताको विवरण समितिलाई उपलब्ध गराइरहेका छन्।
सरकारले बाढी प्रभावित नागरिक आफैंले कोठा खोजेर बस्न चाहेमा चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ। उक्त निर्णय मन्त्रिपरिषद्को बैठकले गरिसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
त्यस्तै, प्रभावित नागरिकसँग अन्यत्र सुरक्षित जग्गा भएमा त्यही स्थानमा ‘मोड्युलर’ घर निर्माण गरी आवासको व्यवस्था गर्ने सरकारको तयारी छ।
सुरक्षित जग्गासमेत नभएका प्रभावितका लागि सरकारले आवश्यक जग्गा व्यवस्थापन गरी त्यहाँ पनि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0