भीमफेदी दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो, ६ जना घाइते
२६ कातिक,बारा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परेको गाडीमा चालकसहित २० जना सवार थिए। बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनापछि सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले उद्धार गरेका थिए।
सुरुमा ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको थियो भने थप तीन जनाको शव केही बेरअघि दुर्घटनास्थलमा फेला परेको डीएसपी थापाले जानकारी दिए। थप तीन जनाको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्। त्यस्तै, गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्।अन्य तीन घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको छ।
चितवन पठाइएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनामा एउटै गाउँका धेरै जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुरटोल शोकमा डुबेको छ। छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दुर्घटनाले गाउँमा ठूलो बज्रपात परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0