भीमफेदी दुर्घटना अपडेट : ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु, ६ जना घाइते; मृतक र घाइतेको पहिचान खुल्यो
२६ कातिक,बारा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । दुर्घटनाका बेला हाइसमा चालकसहित २० जना सवार रहेको खुलेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार सुरु गरेको थियो । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो ।
उद्धारका क्रममा १४ जनाको शव फेला परेको थियो भने ६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि काठमाडौं र चितवनका अस्पतालमा रिफर गरिएको छ ।
मृत्यु हुने १४ जनाको पहिचान खुल्याे
मृत्यु हुनेमा हाइस चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् । त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, २८ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय राम दुलार यादव, २४/२५ वर्षीय सुबोध यादव, १५ वर्षीय रोहन यादव, ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव र १७/१८ वर्षीय सुधेश यादवको मृत्यु भएको छ ।
तीन घाइते थप उपचारका लागि रिफर
दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि रिफर गरिएको छ ।
सुजन यादव र सुदिप यादवलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल तथा देवेन्द्र रायलाई चितवनको मनकामना अस्पताल पठाइएको छ । त्यस्तै, सोही स्थानका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनामा मृत्यु भएका अधिकांश एउटै गाउँ अर्थात् सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका बासिन्दा रहेका छन् । छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दुर्घटनाले सुन्दरपुरटोलसहित सिंगो गाउँलाई शोकमा डुबाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0