छठ मनाउन घर फर्किंदै गरेका एउटै टोलका ११ जनाको दुर्घटनामा मृत्यु, सुन्दरपुर गाउँ शोकमा
ईर्साद अन्सारी
२६ कातिक,बारा । छठ पर्व मनाउन घर फर्किंदै गरेका सर्लाहीको एउटै टोलका ११ जनाको मकवानपुरमा भएको भीषण सवारी दुर्घटनामा मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको ईभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका १० जनासहित चालक गरी ११ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् । अन्य मृतकहरू सबै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाका बेला गाडीमा चालकसहित १७ जना सवार थिए ।दुर्घटनामा मृत्यु हुनेमा ६ पुरुष, दुई महिला र तीन बालिका रहेका छन् । मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।
प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा घाइते भएका ६ जनाको पनि पहिचान खुलेको छ । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा पठाइएको छ भने तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
घाइते हुनेमा सुन्दरपुर टोलका करिब ३३ वर्षीय मुकेश यादव, गुड्डु यादवका ५ वर्षीय छोरा सक्षम कुमार यादव, गुड्डु यादवकै ३ वर्षीय छोरा सुजन यादव, करिब ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र अवधेश यादवका १४ महिनाका छोरा सुदिप यादव रहेका छन् ।
मुकेश यादव र सक्षम कुमार यादव उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै, २६ वर्षीय देवेन्द्र राय पनि उपचारपछि डिस्चार्ज भएका छन् । सुजन यादव र सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल तथा बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
छठ पर्व मनाउन आफ्नै गाउँ फर्किने क्रममा एउटै टोलका यति धेरै मानिसले ज्यान गुमाएपछि सुन्दरपुर टोलमा शोक छाएको छ । दुर्घटनाले एकैपटक धेरै परिवारलाई बज्रपात परेको छ भने गाउँलेहरू स्तब्ध बनेका छन् ।
पर्वको खुसी साट्न घर आउँदै गरेका आफन्तको शव गाउँ पुग्ने अवस्थाले सुन्दरपुर टोलमा छठको उल्लास शोकमा परिणत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0