बारामा सर्पदंश उपचार केन्द्रका लागि मनोज पौडेलको पहल सफल, जीतपुरसिमरा अस्पताललाई अनुमति
७ असाेज,बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालले सर्पदंश उपचार केन्द्र सञ्चालनको औपचारिक अनुमति पाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो।
उपमहानगरपालिकाले दिएको निवेदनका आधारमा महाशाखाले अस्पतालको अनुगमन गरेको थियो। अनुगमनका क्रममा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा भएको पाइएपछि ‘सर्पदंश उपचार केन्द्र सञ्चालन सम्बन्धी मापदण्ड, २०७७’ को दफा ६ बमोजिम २०८३ असोज ५ गतेदेखि २०८७ असोज ४ गतेसम्मका लागि अनुमति दिइएको हो।
महाशाखाका निर्देशक डा. अनुज भट्टचनले हस्ताक्षर गरेको अनुमति पत्र प्राप्त भएसँगै अब जीतपुरसिमरा नगर अस्पतालबाटै सर्पदंशका बिरामीको उपचार गर्ने बाटो खुलेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा. अमृत पोखरेलका अनुसार उपमहानगरपालिकाबाट निवेदन प्राप्त भएपछि महाशाखाले आवश्यक प्रक्रिया अघि बढाएको थियो।
अस्पतालको अनुगमन गर्दा आवश्यक सबै मापदण्ड पूरा भएको पाइएपछि अनुमति दिइएको उनले बताए। पोखरेलका अनुसार जीतपुरसिमरा नगर अस्पताललाई अन्य संस्थाको तुलनामा छोटो समयमै अनुमति दिने गरी प्रक्रिया अघि बढाइएको थियो।
सर्पदंश उपचारका लागि आवश्यक तालिममा अस्पतालका स्वास्थ्यकर्मीलाई विशेष कोटामार्फत सहभागी गराइएको उनले बताए। अब प्रदेश सरकारबाट आवश्यक एन्टिभेनम प्राप्त भएपछि नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सुरु गरिने पोखरेलले जानकारी दिए। केही महिनाअघि मात्रै जीतपुरसिमरा क्षेत्रका सुप्रिया दोङ र दियनशी राना मगरको सर्पदंशका कारण मृत्यु भएपछि स्थानीयस्तरमै उपचार केन्द्रको आवश्यकता थप गम्भीर रूपमा उठेको थियो।
समयमै उचित उपचार नपाउँदा बालिकाहरूको मृत्यु भएको घटनापछि स्थानीयले जीतपुरसिमरामै सर्पदंश उपचार केन्द्र सञ्चालनको माग गर्दै आएका थिए। यसैबीच, नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले गत शुक्रबार स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पुगेर जीतपुरसिमरामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि पहल गरेका थिए।
पौडेलसँगको छलफलमा महाशाखाका निर्देशक भट्टचनले एक साताभित्र अनुमति दिने प्रतिबद्धता जनाएको बताइएको छ। पौडेलको पहलसँगै उपमहानगरपालिकाको निरन्तर प्रयासपछि केही दिनमै केन्द्र सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त भएको हो। आवश्यक मापदण्ड पूरा गरिसक्दा पनि लामो समयसम्म अनुमति नपाउँदा केन्द्र सञ्चालनमा ढिलाइ भएको भन्दै स्थानीयस्तरमा सरकारको आलोचनासमेत हुँदै आएको थियो।
अब अनुमति प्राप्त भएसँगै आवश्यक उपकरण, औषधि तथा जनशक्तिको व्यवस्थापन गरी यथाशीघ्र सेवा सञ्चालन गर्न स्थानीयले उपमहानगरपालिकासँग माग गरेका छन्। सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि जीतपुरसिमरा तथा आसपासका नागरिकले उपचारका लागि वीरगञ्जलगायत टाढाका अस्पतालमा पुग्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमै आकस्मिक उपचार उपलब्ध हुँदा सर्पदंशका बिरामीले समयमै उपचार पाउने र उपचारमा ढिलाइका कारण हुने जोखिमसमेत कम हुने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0