बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, जोखिम कायमै
१३ भदाै,काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सहायक सडक मार्गहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले शनिबार बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार मेसिन तथा सुरक्षाकर्मी परिचालन गरी केही सडक सञ्चालनमा ल्याइए पनि विभिन्न मुख्य राजमार्ग पूर्ण तथा आंशिक रूपमा बन्द छन्।
काठमाडौं उपत्यका जोड्ने नागढुङ्गा–मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आए पनि धादिङको बैरेनी बजार क्षेत्रमा करिब १ किलोमिटर सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ। पृथ्वी राजमार्गअन्तर्गत ज्याङखोला, बिहानीपम्प, गलौँदी, जहरेखेत, बाङ्गेमोड र बैरेनीलगायत क्षेत्रमा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा छन्।
नुवाकोटका मुख्य राजमार्गहरू भने बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, टोखा–छहरे सडकखण्डको शिवपुरी–८ स्थित घट्टेखोलामा जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि लामो समयदेखि बन्द रहेको प्रहरीले जनाएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
दिउँसोको समयमा भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइएको छ। मकवानपुरको कान्तिलोकपथमा पनि बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। पूर्वी नेपालमा इलामको राजदुवालीस्थित मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–४ खरिबोटमा पहिरो गएपछि शहीद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने तथा आवश्यक उपकरण र सुरक्षाकर्मी परिचालन गर्ने काम जारी छ। तर वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै यात्रुहरूलाई यात्राअघि सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0