प्रधानमन्त्री शाहको भारत भ्रमण सफलताको कामना गर्दै रास्वपाद्वारा शुभकामना व्यक्त

Nov 22, 2026 - 13:20
 0  10
प्रधानमन्त्री शाहको भारत भ्रमण सफलताको कामना गर्दै रास्वपाद्वारा शुभकामना व्यक्त

६ मंसिर,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आइतबार जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको उल्लेख छ।

प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी छन्। दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको सन्देशमा उल्लेख छ।रास्वपाका अनुसार भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको पनि रास्वपाले जनाएको छ।

उक्त अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको शुभकामना सन्देशमा उल्लेख छ। रास्वपाले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण होस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0