प्रधानमन्त्री बालेन शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, भोलि मोदीसँग उच्चस्तरीय वार्ता
७ मंसिर,काठमाण्डाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज आइतबार राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्।
प्रधानमन्त्री शाहले ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्री शाह आज दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन तथा राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही अधिकारी पनि भ्रमण टोलीमा थपिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै निजी क्षेत्रका ५२ जना व्यवसायी प्रतिनिधि पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी हुनेछन्। विभिन्न निजी सञ्चारमाध्यमका पत्रकारसमेत आफ्नै खर्चमा भ्रमणमा जाने कार्यक्रम छ। यसरी सरकारी प्रतिनिधिमण्डल, निजी क्षेत्र, पत्रकार तथा भारतस्थित नेपाली दूतावासका अधिकारीसमेत जोड्दा भ्रमणमा सहभागी हुनेको संख्या एक सयभन्दा बढी पुग्नेछ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
भ्रमणको दोस्रो दिन सोमबार (मंसिर ७ गते) प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। उक्त वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई तथा स्थल सम्पर्क सञ्जाल, पूर्वाधार र विकास सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
वार्ताका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत रहेको छ। नेपाल–भारतबीचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्ने, ऊर्जा परियोजना र सीमापार सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउने विषय भ्रमणका प्रमुख प्राथमिकतामा रहनेछन्।
प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा स्वदेश फर्किने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री बनेपछि शाहको पहिलो द्विपक्षीय भारत भ्रमण हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0