प्रधानमन्त्रीको निर्देशनपछि क्यानको पहल, स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बेच्न वायुसेवा कम्पनी तयार
२२ असाेज,काठमाडौं । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको गुनासो आएपछि सरकारले त्यसलाई सम्बोधन गर्न पहल थालेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको हो।
छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री–वितरण गर्ने/गराउने सहमति भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
त्यसैगरी, उपलब्ध टिकट तथा भाडादरसम्बन्धी सूचना सम्बन्धित वायुसेवा कम्पनीको बिक्री–वितरण प्लेटफर्ममा समेत सार्वजनिक गर्ने सहमति भएको छ। यसबाट यात्रुले आफूले तिर्नुपर्ने हवाई भाडाबारे सहज रूपमा जानकारी पाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि उच्चतमसम्मको भाडादर यसअघि नै निर्धारण गरिएको छ। २०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतम र उच्चतम भाडादर तोकिएको थियो।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र हवाई टिकटको मागसमेत बढ्ने भएकाले वायुसेवा कम्पनीले मनपरी भाडा बढाएको गुनासो आउने गरेको छ।
पछिल्लो छलफलले स्वीकृत भाडादरको सीमाभित्र रही यात्रुलाई सहुलियतमा टिकट उपलब्ध गराउने वातावरण बनाउन जोड दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0