त्रिशूली–३ ‘ए’को सुरुङको मुख खोल्न बिहान ३ बजे ब्लास्टिङ
१५ भदाै,काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त नुवाकोटस्थित त्रिशूली जलविद्युत् आयोजना–३ ‘ए’ को सुरुङको मुख खोल्न सोमबार बिहान करिब ३ बजे ब्लास्टिङ गरिएको छ।
बाढीका कारण सुरुङको मुख थुनिएपछि त्यसलाई खोल्ने प्रयासस्वरूप ब्लास्टिङ गरिएको हो। तर सुरुङको भित्री भाग पूरै पानीले भरिएका कारण तत्कालै भित्र प्रवेश गर्न सक्ने अवस्था नरहेको सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
उनका अनुसार करिब ४० सेन्टिमिटर मोटाइको ढलान फोर्न ब्लास्टिङ गर्नुपरेको हो। ब्लास्टिङपछि पनि सुरुङभित्र प्रवेश गर्ने अवस्था नरहेकाले उद्धार तथा सुरुङको मुख खोल्ने कार्य चुनौतीपूर्ण बनेको छ।
सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राति करिब ३ बजे ब्लास्ट त गरियो तर भित्र पस्ने आशा असम्भव भयो।’ उनका अनुसार सुरुङको मुख खोल्ने काम भने निरन्तर जारी छ।
बाढीका कारण आयोजनाको संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा फसेका हुन सक्ने व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकायले प्रयास गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0