कागबेनीमा मिनिबस पल्टिँदा १२ भारतीय नागरिक घाइते

Sep 16, 2026 - 18:41
 0  2
कागबेनीमा मिनिबस पल्टिँदा १२ भारतीय नागरिक घाइते

३१ भदाै,मुस्ताङ । मुस्ताङको कागबेनीमा मिनिबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांश भारतीय नागरिक रहेका छन्। मुक्तिनाथबाट कागबेनीतर्फ आउँदै गरेको मिनिबस कालीगण्डकी कोरिडोरअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

 बा.प्र.०१–००६ ख ९६०९ नम्बरको मिनिबस दुर्घटनामा चालक र सहचालकसहित २५ जना सवार थिए। दुर्घटनामा घाइते भएका १२ जनामध्ये सबैजसो भारतका विभिन्न स्थानका नागरिक रहेको प्रहरीले जनाएको छ।

 घाइते हुनेमा भारतको दिल्लीका ६८ वर्षीय वेदपाल शर्मा, ६५ वर्षीया रेणु झा, ६२ वर्षीया लता रानी कश्यप, ६२ वर्षीया नरेन्द्र देवी, ५० वर्षीया किरण जोशी, ६२ वर्षीया लता भाटिया, ६२ वर्षीया गिता, ४५ वर्षीया सन्ध्या टाईगल, ६२ वर्षीया सरोजा भाटिया, ६५ वर्षीया रेखा गोयल, २८ वर्षीय घोरेला र ५२ वर्षीया सपना ठाकुर रहेका छन्। दुर्घटनामा घाइते भएका सबैको प्रदेश अस्पताल जोमसोम, मुस्ताङमा उपचार भइरहेको छ।

 बसमा सवार अन्य १३ यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुक्तिनाथबाट कागबेनीतर्फ आउँदै गरेको बस अनियन्त्रित भएपछि सडकमा पल्टिएको हो। बस  सुनसरीको धरान उपमहानगरपालिका–१५ का अन्दाजी ४४ वर्षीय रुपेन थापाले चलाएका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कागबेनीबाट प्रहरी सहायक निरीक्षक रुकबहादुर थापाको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घाइते यात्रुको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ। बस चालक रुपेन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0