एमाले राष्ट्रिय भेलाद्वारा २१ बुँदे प्रस्ताव पारित, लोकतन्त्र फिर्ताका लागि आन्दोलन गर्ने सङ्कल्प

Nov 19, 2026 - 17:45
 0  7
एमाले राष्ट्रिय भेलाद्वारा २१ बुँदे प्रस्ताव पारित, लोकतन्त्र फिर्ताका लागि आन्दोलन गर्ने सङ्कल्प

ईर्साद अन्सारी

३ कातिक,काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने निर्णय गरेको छ।

 काठमाडौंको कार्की बैंक्वेटमा मङ्सिर २ र ३ गते सम्पन्न भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने निर्णयसमेत गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित आयोजित भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

 भेलामा देशभर र प्रवासबाट गरी ३ हजार ४१४ जना प्रतिनिधि सहभागी भएका थिए।भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा सम्बोधन गर्दै पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्थ गरेदेखि सुरु भएको बताएका थिए।

लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरणको नेतृत्व एमालेले गर्ने उनको भनाइ थियो। ओलीले भदौ २३ र २४ गतेका घटना तथा पार्टीमाथि भइरहेको घेराबन्दीलाई बुझेर अगुवा कार्यकर्तालाई प्रतिबद्धता र सङ्कल्पका साथ जनतामाझ जान निर्देशन दिएका थिए। भेलाले पारित गरेको प्रस्तावमा वर्तमान सरकारमाथि राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थामाथि हस्तक्षेप र स्वेच्छाचारी शासन सञ्चालन गरेको आरोप लगाइएको छ।

पार्टी अध्यक्ष ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सरकारका कदमको भर्त्सना गरिएको छ।त्यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरिएको छ।

सुकुम्बासी विस्थापन, महँगी, कर वृद्धि, बेरोजगारी र व्यवसायीमाथि त्रास सिर्जना गरिएको भन्दै सरकारले जनजीविकाका सवालमा संवेदनशील बन्नुपर्ने प्रस्तावमा उल्लेख छ। भेलाले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै सीमा समस्या, असमान सन्धि, ईपीजी प्रतिवेदन, व्यापार घाटा र हवाई प्रवेश बिन्दुलगायत विषयमा स्पष्ट कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यसैगरी, भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल पुनर्स्थापना र पुनर्निर्माण गर्न, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अनुगमन तथा सडक स्तरोन्नति गर्न पनि माग गरिएको छ।

एमालेले पार्टीभित्र शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकता दिने सङ्कल्प गरेको छ। नेता तथा कार्यकर्तामा देखिएका आर्थिक र आचरणगत विचलन, भ्रष्टाचार, विलासी जीवनशैली, गुटबन्दी र जनताबाट टाढिने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता प्रस्तावमा व्यक्त गरिएको छ।

आगामी निर्वाचनमा जनता र कार्यकर्ताको भावना तथा निर्धारित विधिअनुसार उम्मेदवार छनोट गर्ने र पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति परिचालन गर्ने पनि भेलाले सङ्कल्प गरेको छ। भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठन, शुद्धीकरण, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र आगामी निर्वाचनको तयारीलगायत विषयमा प्रशिक्षणमूलक सम्बोधन गरेका थिए।

भेलाले राष्ट्रियता, लोकतन्त्र र सामाजिक परिवर्तनका लागि योगदान पुर्‍याउने शहीद तथा दिवंगत नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र उपचाररत नेताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।प्रस्तावमा अन्तर्राष्ट्रिय हस्तक्षेप र युद्धको विरोध, प्यालेस्टाइनी जनताको स्वतन्त्र राज्यको मागको समर्थन तथा विश्व शान्ति, लोकतन्त्र र जलवायु न्यायका पक्षमा ऐक्यबद्धता पनि व्यक्त गरिएको छ।

 भेलाको उद्घाटन तथा बन्दसत्रको सञ्चालन सचिव भानुभक्त ढकालले गरेका थिए भने स्वागत सचिव पद्मा अर्यालले गरेकी थिइन्। स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव र सङ्कल्प प्रस्तुत गरेका थिए।

 भेलाबाट पारित प्रस्तावले पार्टीलाई एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने तथा आगामी निर्वाचनमार्फत राजनीतिक शक्ति पुनःस्थापित गर्ने लक्ष्य लिएको एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0