आजै परमाणु हमलाको खतरा बढेको होइन, अक्टोबर २९ कै इरानी सुरक्षा निर्देशन नोभेम्बर ३ मा बन्यो अन्तर्राष्ट्रिय समाचार

Nov 3, 2026 - 20:38
 0  9
आजै परमाणु हमलाको खतरा बढेको होइन, अक्टोबर २९ कै इरानी सुरक्षा निर्देशन नोभेम्बर ३ मा बन्यो अन्तर्राष्ट्रिय समाचार

बारा । इरानमा सम्भावित परमाणु हमलाको त्रास बढेको भन्दै मंगलबार विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले नयाँ खतरा उत्पन्न भएको सन्देश दिए पनि यसको वास्तविकता केही फरक छ।

इरानले नागरिकलाई सम्भावित परमाणु विस्फोटबाट बच्ने उपायबारे दिएको सुरक्षा निर्देशन अक्टोबर २९ (२०८३ कात्तिक १२ गते) नै सार्वजनिक गरेको थियो। इरानको सरकारी समाचार संस्था IRNA ले अक्टोबर २९ मा सार्वजनिक गरेको आठ मिनेट लामो सचेतनामूलक भिडियोमा सम्भावित परमाणु विस्फोटको अवस्थामा नागरिकले अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको छ।

भिडियोमा नागरिकलाई बलियो भवनभित्र वा भूमिगत सुरक्षित स्थानमा बस्न, झ्यालबाट टाढा रहन, बाहिरको हावा भित्र तान्ने एसी तथा भेन्टिलेसन प्रणाली बन्द गर्न र सम्भावित विकिरणको जोखिमबाट बच्न कम्तीमा २४ घण्टा सुरक्षित स्थानमै रहन सुझाव दिइएको छ। त्यस्तै, बाहिर रहेका व्यक्तिलाई विस्फोटको चम्किलो प्रकाशतर्फ नहेर्न, शरीरलाई सुरक्षित राख्न र विस्फोटपछि नजिकैको बलियो भवनमा आश्रय लिन भनिएको छ।

विकिरणको जोखिमबाट बच्न चिकित्सकको सल्लाहबिना आयोडिन चक्की सेवन नगर्नसमेत सचेत गराइएको छ। इरानले निष्क्रिय प्रतिरक्षा सप्ताहका अवसरमा सार्वजनिक गरेको उक्त सामग्रीलाई भारतीय सञ्चारमाध्यम इन्डिया टुडे र मनीकन्ट्रोलले नोभेम्बर ३ (२०८३ कात्तिक १७ गते) पुनः समाचार बनाएका हुन्।

 त्यसपछि नेपाली सञ्चारमाध्यममा पनि उक्त विषयले स्थान पाएको देखिन्छ। अमेरिका र इरानबीचको तनाव तथा आणविक कार्यक्रमसम्बन्धी विवादका कारण उक्त सुरक्षा निर्देशिकाले अन्तर्राष्ट्रिय चासो पाएको हो। तर मंगलबार नै इरानमाथि परमाणु हमला हुन लागेको, आक्रमणको समय तोकिएको वा इरानले तत्काल हमलाको चेतावनी पाएको भन्ने आधिकारिक पुष्टि छैन।

 यसर्थ, यो आज सार्वजनिक भएको नयाँ आपत्कालीन चेतावनी नभई अक्टोबर २९ मै सार्वजनिक गरिएको नागरिक सुरक्षा सचेतना सामग्री हो, जसलाई नोभेम्बर ३ मा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुनः समाचार बनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0