अविरल वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प: बागमती र कोशी प्रदेश बढी प्रभावित, धेरै ठाउँमा राति यात्रा गर्न रोक

Sep 26, 2026 - 07:38
 0  5
अविरल वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प: बागमती र कोशी प्रदेश बढी प्रभावित, धेरै ठाउँमा राति यात्रा गर्न रोक

ईर्साद अन्सारी

१० असाेज,काठमाण्डाैं  । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्ड बाढी र पहिरोका कारण प्रभावित भएका छन्।

नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार केही सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् भने जोखिमका कारण धेरै स्थानमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाङदुर, टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिर्खेधारामा पहिरोका कारण कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

 कोशी प्रदेशतर्फ सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित जिल्लाका विभिन्न सडक बाढी–पहिरोको जोखिममा छन्। भोजपुरमा मध्यपहाडी लोकमार्ग तथा भित्री सडकमा रातिको समयमा आवागमनमा रोक लगाइएको छ। इलाममा मेची राजमार्ग, मेची करिडोरलगायत सडकमा राति सवारी आवागमन बन्द गरिएको छ।

ओखलढुंगाको मानेभञ्ज्याङ–६ र ७ को सीमास्थित भण्डारे खोला तथा सिद्धिचरण नगरपालिका–५ चित्रेमा बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध छ। पाँचथरमा तमोर करिडोरअन्तर्गत तुम्बेवा–२ नावाखोला तथा मध्यपहाडी लोकमार्गअन्तर्गत याङवरक–२ दोभाने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा पनि सडक अवस्था गम्भीर देखिएको छ।

काभ्रेको रोशी गाउँपालिका–८ गिम्तीबेँसी र वडा नम्बर ४ सयबेँसीमा पहिरोका कारण बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्गसमेत पूर्णरूपमा बन्द भएको छ। रसुवामा मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध छन्। नुवाकोटको विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ।

 धादिङमा कृष्णभीर, टिङराङखानी, जेनरीघाट र बाँगेमोडलगायत क्षेत्रमा पहिरोको जोखिम रहेको जनाइएको छ। धादिङ तथा आसपासको पृथ्वी राजमार्गमा समेत सवारी आवागमनमा रोक लगाइएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवा खोलानजिक पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड तथा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा पहिरोका कारण महेन्द्र राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

 सिन्धुलीमा बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। दोलखामा जिल्लाभरका सडकमा राति आवागमन बन्द गरिएको छ। चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा आवागमन रोक लगाइएको छ भने इच्छाकामना–४ धारापानी क्षेत्रमा समेत पहिरोको जोखिम रहेको छ। गण्डकी प्रदेशमा चामे–बेँसीसहर सडकखण्ड, पोखरा–बागलुङ मध्यपहाडी लोकमार्ग तथा अन्य सडकमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

पर्वतको जलजला गाउँपालिका–८ फर्से र लस्तीमा पहिरोका कारण पोखरा–बेनी–बागलुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। बागलुङको निसीखोला–४ कानाबगरमा मध्यपहाडी लोकमार्ग तथा जैमिनी–८ बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध छन्।

लुम्बिनी प्रदेशमा दाङको तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुवाङ–चकचके सडकखण्ड र घोराही–होलेरी सडकखण्डमा जोखिमका कारण आवागमनमा रोक लगाइएको छ। रोल्पाको माडीचौरमा मदन भण्डारी राजमार्ग तथा माडी गाउँपालिका–३ गरगरेमा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

 अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ रिपामा पहिरोका कारण गोरुसिंगे–सन्धिखर्क सडकखण्ड अवरुद्ध छ। गुल्मीका रुरुक्षेत्र–१ स्यालबिसौना, चन्द्रकोट–७ सिस्नेभिर र कालीगण्डकी–२ राक्सेमा पहिरोका कारण क्रमशः मदन भण्डारी राजमार्ग, रुद्रबेणी–वामीटक्सार सडकखण्ड र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन्।

 कर्णाली प्रदेशमा पनि सडक अवस्था प्रभावित छ। कालिकोटको कर्णाली राजमार्गमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरोका कारण राप्ती राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

 प्रहरीका अनुसार लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा रातिको समयमा सवारी आवागमन रोकिएको छ। अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त सडकमा यातायात व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

 यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0